महोत्तरी-३ (जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, मनरा-सिस्वा नगरपालिकाको वडा ८,९,१० र पिपरा गाउँपालिकाका मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूप्रति)
प्रिय मतदाता महानुभावहरू,
महोत्तरी-३ मधेशको राजनीति, संस्कृति र विकासका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यहाँको जीवनयापनको मुख्य आधार कृषि हो, तर सिँचाइको अभाव, मल-बीउको अनियमितता, बाढी-डुबान, बजार पहुँच कमजोर, जंगली जनावरको आतंक, र युवाको रोजगारी जस्ता समस्याले हाम्रो सम्भावना दबिएको छ । यसैले यो प्रतिबद्धता पत्र "पुरानै शैलीको बाटो-घाटो" मात्र होइन, सुशासन, सेवा, आय र सुरक्षालाई केन्द्रमा राखी किसानको खेतमा पानी, खेतको सुरक्षा, युवाको हातमा काम, र सेवाको पहुँच घरदैलोमा पुर्याउने स्पष्ट प्राथमिकतामा आधारित छ ।
१) हाम्रो दृष्टि (Vision)
- सुशासन = भरोसायोग्य, पहुँचयोग्य र भ्रष्टाचारमुक्त सेवा (घुस-आर्थिक लेनदेन बन्द)
- कृषि = आम्दानीमूलक बनाउने (खर्च घटाउने, उत्पादन बढाउने, बजार सुनिश्चित गर्ने)
- युवा = सीप, रोजगारी र उद्यममार्फत सशक्त बनाउने
- स्वास्थ्य/शिक्षा = सेवामूलक बनाउने (गुणस्तर र पहुँच)
- बाढी/डुबान = जोखिम घटाउने (पूर्वतयारी र दीर्घकालीन समाधान)
- पूर्वाधार/अर्थतन्त्र = टिकाउ मर्मत-सम्भार र व्यापार-लजिस्टिक्स विस्तार (Dry Port/ICD सहित)
- पर्यटन/संस्कृति = पहिचानबाट आम्दानी (शिव सर्किट र मटिहानीका सम्पदाको संरक्षण)
२) काम गर्ने तरिका (काम गर्ने "नयाँ शैली")
- जिरो-टोलरेन्स: भ्रष्टाचार, ढिलासुस्ती र घुस-आर्थिक लेनदेन विरुद्ध शून्य सहनशीलता ।
- सेवा पहुँचयोग्य र समावेशी: सदरमुकामदेखि पालिका/वडासम्मका सरकारी कार्यालयलाई नागरिकमैत्री, पहुँचयोग्य र समावेशी बनाउने पहल ।
- डिजिटल पारदर्शिता: मल-बीउ वितरणदेखि सेवाग्राही गुनासो/ट्र्याकिङसम्म "ट्र्याक हुने" प्रणाली ।
- अलपत्र योजना पहिला: बजेट/समन्वय अभावले रोकिएका योजनालाई प्राथमिकतामा राखी सम्पन्न ।
- संघ-प्रदेश-स्थानीय समन्वय: सिँचाइ, अस्पताल, बाढी नियन्त्रण, शिक्षा/प्राविधिक कलेज, Dry Port जस्ता ठूला मुद्दा संघीय तहमा बजेट/नीति सुनिश्चित ।
- जनतासँग सम्झौता, जनतालाई प्रतिवेदन: प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ/प्रगति प्रतिवेदन ।
३) पहिलो प्राथमिकता: सुशासनयुक्त र भ्रष्टाचारमुक्त सरकार
जेन-जी आन्दोलनको मुख्य पुकार अनुरूप क्षेत्र नं. ३, सदरमुकाम जलेश्वर र सम्पूर्ण महोत्तरी जिल्लाका सरकारी कार्यालयलाई पहुँचयोग्य, समावेशी र भ्रष्टाचारमुक्त बनाउने पहल, भ्रष्टाचार, ढिलासुस्ती र घुस-आर्थिक लेनदेन विरुद्ध शून्य सहनशीलता ।
सेवा लिन जाँदा हुने घुस/आर्थिक लेनदेन (भिड-सिफारिस-खर्च) बन्द गर्न नागरिक बडापत्र, एकद्वार सेवा, टोकन प्रणाली/लाइन व्यवस्थापन, गुनासो सुन्ने हेल्पडेस्क र अनुगमन संयन्त्र सुदृढ गर्ने ।
सार्वजनिक खरिद/बजेट खर्चमा पारदर्शिता: योजना विवरण सार्वजनिक, समाज अडिट र नतिजा, आधारित अनुगमन ।
जलेश्वर कारागारलाई मानवअधिकारमैत्री, सुरक्षित र व्यवस्थित बनाउँदै आवश्यक भौतिक सुधार, स्वास्थ्य सेवा र पुनर्स्थापना कार्यक्रमसहित आधुनिकीकरणका लागि संघीय सरकारसँग समन्वय गरिनेछ ।
४) दोस्रो प्राथमिकता: कृषि, सिँचाइ र किसानको आय वृद्धि
(क) सिँचाइ र पानी व्यवस्थापन - "खेतमा पानी, समयमै पानी"
- पानी निकास र व्यवस्थापनका लागि साबिकका जिर्ण कृषि नहरको मरम्मत-सम्हार गरी आवश्यक ठाउँमा नयाँ नहर निर्माण ।
- दीर्घकालीन सिँचाइ समाधानका लागि "सुनकोशी-मरिन डाइभर्सन" आयोजनाबाट महोत्तरीका जंगहा, रातु, विगही लगायतका प्रणालीमा पानी ल्याउने विषयलाई (i) प्राविधिक अध्ययन, (ii) बजेट सुनिश्चितता, (iii) चरणबद्ध कार्यान्वयनमा लैजान संघीय तहमा ठोस पहल ।
- साना किसानका लागि समूहगत/सहकारी आधारित सोलार पम्प, ड्रिप/स्प्रिंकलर जस्ता प्रविधिमा पहुँच बढाउने ।
- भूमिगत पानी प्रयोगको लागत घटाउन ऊर्जा/पम्पिङ लागत कम गर्ने समूहगत समाधान र प्राविधिक सहयोग ।
(ख) मल-बीउ-प्रविधि - "किसानलाई लाइन होइन, सेवा"
- मल/बीउको समयमै उपलब्धता - किसान दर्ता/कृषक सूची अद्यावधिक गरी पूर्व-अर्डर र वितरण अनुगमन प्रणाली ।
- उन्नत बीउ, माटो परीक्षण र सल्लाह सेवा - वडास्तरीय पहुँचमा माटो परीक्षण/बाली सल्लाह विस्तार ।
- कृषि यान्त्रिकीकरण र लागत घटाउने कार्यक्रम - साझा कृषि उपकरण केन्द्र/भाडा प्रणाली (ट्र्याक्टर, थ्रेसर, पावर टिलर आदि) लाई सहकारी/समूहमार्फत बलियो बनाउने ।
(ग) बजार र मूल्य - "उत्पादन मात्रै होइन, आम्दानी"
- संग्रह केन्द्र, भण्डारण र शीत भण्डार (Cold Store) को पहल ।
- कृषकलाई बजारसँग जोड्ने सम्झौता खेती/उद्योगसँग लिंक ।
- कृषि उद्यम (दूध, तरकारी, आलु, कागती/फलफूल, मसला) मा मूल्य अभिवृद्धि: साना प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, सहकारी बिक्री ।
(घ) जंगली जनावर (निलगाई/बँदेल) को आतंक - "खेतीको सुरक्षा किसानको सम्मान"
- उच्च जोखिम क्षेत्र पहिचान गरी जाली/बार, सोलार/इलेक्ट्रिक फेन्सिङ (सुरक्षित मानक अनुसार), सामूहिक पहरा/वाच टावर, बाली सुरक्षा उपकरण ।
- क्षतिको दर्ता, प्रमाणिकरण र राहत/बीमा दाबी सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय ।
- समस्या आउने गाउँ/वडामा र्यापिड रिस्पोन्स र दीर्घकालीन व्यवस्थापनका लागि वन/वन्यजन्तु निकायसँग स्थायी समन्वय संयन्त्र ।
५) तेस्रो प्राथमिकता: युवा रोजगारी, सीप र प्राविधिक शिक्षा
"वैदेशिक बाध्यता घटाऔँ, स्थानीय सम्भावना बढाऔँ"
- क्षेत्रभित्रका बेरोजगार युवाको प्रोफाइल/सीप नक्सांकन (Skill Mapping) गरी रोजगारी/तालिमसँग जोड्ने ।
- कृषि-आधारित उद्योग, सेवा, साना उत्पादन, डिजिटल/व्यापारका लागि उद्यमशीलता (Entrepreneurship) प्रवर्द्धन: व्यवसाय योजना, मेन्टरिङ, सहुलियत ऋण पहुँचमा सहजीकरण ।
- जेन-जी युवाका लागि खेलकुद पूर्वाधार: multi-purpose mini-stadium तथा नियमित प्रतियोगिता/क्लब सहयोग ।
- युवालाई कुलत/लागूपदार्थबाट जोगाउन विद्यालय-समुदाय केन्द्रित सचेतना, परामर्श र पुनर्स्थापना पहुँच ।
- वैदेशिक रोजगारमा रहेका युवाको समस्या सुन्न/सहयोगका लागि विशेष सफ्टवेयर/प्लाटफर्म निर्माण गरी नियमित सम्पर्क ।
६) चौथो प्राथमिकता: स्वास्थ्य सेवा - जलेश्वर अस्पताललाई भरोसायोग्य बनाउने
- स्वास्थ्य बीमामा पहुँच बढाउन सहजीकरण गर्ने मेकानिज्म बनाई लागू गर्ने ।
- जलेश्वर अस्पतालमा विशेष सेवा सञ्चालनका लागि भेन्टिलेटर र डायलसिस सुविधा प्रभावकारी कार्यान्वयन गर्न आवश्यक मानव स्रोत आपूर्ति, साथै नर्सिङ अध्ययनको व्यवस्थापन गर्ने ।
- यस क्षेत्रमा आम जनताको पहुँचमा हुनेगरी एम्बुलेन्स सेवा नेटवर्क स्थापना गराई कम्तिमा दुईवटा शववाहन उपलब्ध गराउने ।
- अन्तर-सरकार समन्वय गरी क्षेत्रभरीका असहाय नागरिकका लागि नसर्ने रोग (NCD) को निःशुल्क चेकजाँचको स्थायी संरचना तयार गरी कार्यान्वयन गर्ने ।
७) पाँचौँ प्राथमिकता: शिक्षा - गुणस्तर, अनुशासन र प्राविधिक शिक्षा
- क्षेत्रका सामुदायिक विद्यालयलाई 'नमुना विद्यालय' का रूपमा विकास गर्दै गुणस्तरीय शिक्षासहित कक्षा ११–१२ (+2) को पहुँच विस्तार गरिनेछ ।
- सामुदायिक विद्यालयमा विद्यार्थी-शिक्षक अनुपात कायम गराउने ।
- सामुदायिक विद्यालयमा रहेका विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाहरू अनिवार्य रूपमा सञ्चालन गराउने (भौतिक संरचना छ तर बन्द हुने अवस्था अन्त्य) ।
- प्राविधिक शिक्षा सञ्चालन प्रत्येक विद्यालयमा चरणबद्ध रूपमा कार्यान्वयन गराउने ।
- रामानन्दन विशेश्वर महेन्द्र (रा.बि.म.) कलेजलाई विश्वविद्यालयसँग पूर्ण सम्बन्धनतर्फ लैजाने ।
- मनिपाल इन्जिनियरिङ कलेजको वर्तमान अवस्था, प्रगति र दीर्घकालीन रोडम्यापबारे सम्बन्धित निकायसँग स्पष्टता गराई आवश्यक नीतिगत/प्रशासनिक पहल (गुणस्तरीय प्राविधिक शिक्षा र स्थानीय अवसरसँग जोड्ने) ।
८) छैटौँ प्राथमिकता: बाढी-डुबान र वातावरण (चुरे-भावर संरक्षण)
- वर्षायाममा रातु, विगही र अन्य साना खोलाबाट हुने बाढीले गर्ने कटान/डुबान न्यूनीकरण: नदी नियन्त्रण, निकास/ढल व्यवस्थापन, पूर्वसूचना (Early Warning) र सुरक्षित आश्रय ।
- कृषि क्षति न्यूनीकरण: बाढी-बीमा/राहत पहुँच सहज, सुरक्षित बीउ/भण्डारण व्यवस्था ।
- चुरे-भावर क्षेत्र संरक्षण सम्बन्धमा संघीय/प्रदेश तहमा पहल: अवैध उत्खनन (Illegal extraction) रोक्ने, नदीजन्य पदार्थको उत्खनन-ढुवानीमा कडाइ, संयुक्त अनुगमन र दण्ड-कारबाही ।
- क्षेत्रलाई सफा, सुघर, हराभरा र सुन्दर बनाउने लक्ष्यसहित फोहर व्यवस्थापन, हरियाली विस्तार, सार्वजनिक स्थान संरक्षण र वातावरणीय अनुशासनलाई प्राथमिकता दिइनेछ ।
९) सातौँ प्राथमिकता: पूर्वाधार र अर्थतन्त्र - टिकाउ मर्मत, सेवा र व्यापार-लजिस्टिक्स
- जलेश्वर र ग्रामीण सडकको मर्मत-सम्भारलाई पहिलो प्राथमिकता: वर्षायामको हिलो र हिउँदको धुलो घटाउन ड्रेनेजसहित टिकाउ सुधार ।
- अलपत्र योजनाको सम्पन्नता: बजेट/खिचातानीका कारण रोकिएका योजना टुंग्याउने ।
- पुल/कल्भर्ट/निकास प्रणाली: सडकसँगै पानी निकासको डिजाइन अनिवार्य ।
- डिजिटल कनेक्टिभिटी र सार्वजनिक सेवा पहुँच: सरकारी सेवा/सूचना "लाइन" होइन, अनलाइन/एकीकृत सेवा तर्फ ।
- क्षेत्र नं. ३ लाई कृषि, सेवा र सीमावर्ती व्यापारसँग जोडिएको व्यवस्थित व्यापारिक हबको रूपमा विकास गर्दै व्यापार व्यवस्थापन, बजार पूर्वाधार र लगानीमैत्री वातावरण तयार गरिनेछ ।
- जलेश्वर भन्सारलाई Dry Port/इनल्यान्ड कन्टेनर डिपो (ICD) को रूपमा विकसित गर्न DPR, स्थान/जग्गा पहिचान, बजेट सुनिश्चितता र चरणबद्ध कार्यान्वयन अघि बढाइने ।
- क्षेत्र नं. ३ मा बालमैत्री, महिला मैत्री, अपाङ्गता भएका व्यक्ति मैत्री र ज्येष्ठ नागरिक मैत्री सुविधासम्पन्न सार्वजनिक पार्क तथा विश्रामस्थल निर्माण गरिनेछ ।
१०) आठौँ प्राथमिकता: पर्यटन/संस्कृति - "पहिचानबाट आम्दानी"
- चारै पालिकाका धार्मिक तथा सांस्कृतिक महत्वका स्थललाई टुरिजम करिडोरको रूपमा विकास गर्ने ।
- अन्तरदेशीय समन्वय गरी जलेश्वरस्थित महादेव मन्दिरलाई केन्द्रमा राखी "शिव सर्किट" को रूपमा प्रवर्द्धन गरी धार्मिक पर्यटन बढावा दिने ।
- जलेश्वरस्थित महादेव मन्दिरको समग्र सौन्दर्यीकरण, व्यवस्थापन र अन्तर्राष्ट्रिय पहिचानका लागि आवश्यक प्राविधिक/कूटनीतिक पहल गरी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन संघीय तहमा पहल गरिनेछ ।
- मटिहानीमा अवस्थित लक्ष्मीनारायण मठ, तस्मैया पिर बाबा, र मुलुककै सबैभन्दा पुरानो गुरुकुल राजकीय संस्कृत विद्यालयको संरक्षण, सम्बर्धन र पर्यटन/शैक्षिक सम्पदाका रूपमा प्रवर्द्धन गर्ने ।
११) जवाफदेहिता - "भोटपछि पनि भेटिने प्रतिनिधि"
- प्रत्येक वर्ष जनतासँग सार्वजनिक समीक्षा/सुनुवाइ र प्रगति प्रतिवेदन ।
- विकास बजेटको समाज अडिट/सार्वजनिक जानकारी ।
- नागरिक गुनासो/सुझावका लागि स्थायी सम्पर्क प्रणाली (फोन/डिजिटल/कार्यालय) ।
- नेपाली कांग्रेसलाई क्षेत्रका नागरिकको वास्तविक समस्या सुन्ने, समाधान खोज्ने र निरन्तर साथमा उभिने जनउत्तरदायी राजनीतिक शक्ति बनाउने प्रतिबद्धता ।
कार्यान्वयनका प्रारम्भिक कदम (प्राथमिक रोडम्याप)
पहिलो १०० दिन
- सरकारी कार्यालय सेवा सुधार (नागरिक बडापत्र/हेल्पडेस्क/गुनासो ट्र्याकिङ) सुरु ।
- सिँचाइ/नहर-निकासका समस्या 'हटस्पट' पहिचान र मर्मत योजना सुरु ।
- मल-बीउ वितरण अनुगमन संयन्त्र + किसान दर्ता अद्यावधिक ।
- स्वास्थ्य बीमा सहजीकरण डेस्कको संरचना ।
- युवाको प्रोफाइल/सीप नक्सांकन सुरु ।
- Dry Port/ICD र मनिपाल इन्जिनियरिङ कलेजबारे सम्बन्धित निकायसँग औपचारिक समन्वय/रोकिएका प्रक्रियाको स्पष्टता ।
पहिलो १ वर्ष
- जलेश्वर अस्पतालमा डायलसिस/भेन्टिलेटर सेवा प्रभावकारी सञ्चालनका लागि मानवस्रोत/व्यवस्थापन पहल ।
- एम्बुलेन्स नेटवर्क र शववाहन उपलब्धताको कार्यान्वयन ।
- विद्यालयमा विज्ञान/कम्प्युटर कक्षा सञ्चालन सुनिश्चित, प्राविधिक शिक्षा विस्तारका प्रारम्भिक कार्यक्रम ।
- बाढी-कटान न्यूनीकरणका प्राथमिक संरचना/समन्वय र चुरे-भावर अवैध उत्खनन रोकथाममा संयुक्त अनुगमन ।
५ वर्षको लक्ष्य
- दीर्घकालीन सिँचाइ समाधानतर्फ (सुनकोशी-मरिन डाइभर्सन सहित) ठोस प्रगति ।
- कृषि-उद्यम/प्रशोधन र बजार पहुँच विस्तार ।
- टुरिजम करिडोर/शिव सर्किट तथा मटिहानीका सम्पदामार्फत स्थानीय आम्दानी वृद्धि ।
- जोखिम-सहनशील (resilient) पूर्वाधार, भ्रष्टाचारमुक्त सेवा र स्थानीय अर्थतन्त्रको विस्तार ।
अन्त्यमा, महोत्तरी-३ लाई अब "सडक मात्रै" होइन, सुशासन, सिँचाइ, कृषि आम्दानी, सेवा गुणस्तर, युवा रोजगारी, जोखिम व्यवस्थापन र पहिचानमा आधारित विकासको नयाँ मोडेल चाहिएको छ । यस प्रतिबद्धता पत्रका प्रत्येक बुँदा तपाईंहरूसँगको सम्झौता हो, र यसको प्रगति तपाईंहरूसामु नियमित रूपमा सार्वजनिक गरिनेछ ।